बाह्र वर्षमै दिँदै एसइईको परिक्षा
पर्वत | चैत १६, २०८०
पर्वत: सामान्यतया एसइई दिने विद्यार्थीको उमेर १४ वर्षदेखि माथिको हुने गरेको पाइन्छ । पर्वतमा भने १२ वर्षीय एक छात्र बिहीबारदेखि सञ्चालित एसइई परीक्षामा सहभागी भएका छन् । दक्षिण पर्वतको पैंयुँ गाउँपालिका–४ मा रहेको जनसेवा संस्कृत माध्यमिक विद्यालय केन्द्रबाट १२ वर्षीय शक्ति अधिकारीले एसइई दिनुभएको हो ।
उहाँ सोही गाउँपालिका–६ सरौखोलास्थित विनु माविमा अध्ययनरत विद्यार्थी हुनुहुन्छ । अधिकारी पर्वतबाट एसइई दिने विद्यार्थीमध्ये सबैभन्दा कम उमेरको रहेका जिल्लास्थित शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख उद्धिमराज पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार २०७८ सालभन्दा अघि एसइई दिने पाउने उमेरको हद १५ वर्ष थियो । वि.सं.२०७८ मा शिक्षा नियमावलीअनुसार एसइई दिने परीक्षार्थीको उमेर हदबन्दीमा उक्त व्यवस्था परिवर्तन गरिएपछि कम उमेरका विद्यार्थीले पनि दिन पाउने भएको पौडेलले बताउनुभयो ।
विनु मावि सरौखोलाका प्रधानाध्यापक खगेन्द्र तिवारीले एसइईको फारम भर्दा पनि सोही जन्ममिति रहेकाले विद्यार्थीले सानै उमेरदेखि पढेका बताउनुभयो । कम उमेरदेखि नै विद्यालय गएकाले अधिकारीले १२ वर्षमै एसइई दिन सफल भएका उहाँको भनाइ छ । तिवारीका अनुसार अधिकारीले पहिला निजी विद्यालयमा पढ्नुभएको थियो । यहाँ पढ्न आउँदा उहाँ कक्षा कक्षा ८ मा भर्ना हुनुभएको उहाँले बताउनुभयो ।
निजी विद्यालयबाट सामुदायिक विद्यालयमा आउँदा कक्षा परिवर्तन गरेकाले पनि चाँडो एसइई दिएको हुनसक्ने तिवारीको भनाइ छ । सोही विद्यालयबाट जिल्लामै सबैभन्दा बढी उमेरका अर्का परीक्षार्थी पनि एसइई परीक्षामा सहभागी हुनुभएको छ । विद्यालयका नियमित छात्र ४० वर्षीय दुर्गाप्रसाद भुर्तेलले जनसेवा संस्कृत मावि केन्द्रबाट परीक्षा दिनुभएको हो ।
कक्षा सातसम्म पैंयुँ५ क्यामुनेभन्ज्याङ माविमा अध्ययन गर्नुभएका भुर्तेल कक्षा ८ मा विनु माविमा भर्ना हुनुभएको थियो । उहाँ नियमित विद्यालयमा हाजिर भएरै कक्षा लिइरहने विद्यार्थी रहेको विद्यालयका प्रअ तिवारीले बताउनुभयो । कक्षा ७ सम्म अध्ययन गरेपछि बीचमा छुटेर पुनः विद्यालय भर्ना भएकाले जिल्लामै सबैभन्दा बढी उमेरको विद्यार्थीमा भुर्तेल देखिनुभएको तिवारीले बताउनुभयो ।
पर्वतमा १७ परीक्षाकेन्द्र तोकिएको शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ । जिल्लाभर शान्तिपूर्वक परीक्षा भइरहेको भन्दै विगतका वर्षभन्दा यस वर्ष थप मर्यादित रहेको पाइएको कार्यालय प्रमुख उद्धिमराज पौडेलले बताउनुभयो ।
नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सले सुखद सुरुवात गरेको छ। आफ्नो पहिलो खेलमा जनकपुर बोल्ट्समाथि १९ रनको रोमाञ्चक जित हात पारेको हो। १३३ रनको लक्ष्य पछ्याएको जनकपुरलाई कर्णालीले ११...
पोखरा। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्लाई दुबईको उडानमार्फत वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकहरूका लागि पोखरामा स्वास्थ्य परीक्षण सेवा सुरु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्...
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

